नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बालिका ६ वर्षिया गुलाव शाह खातुनको हत्यापछि आक्रान्त बनेको बर्दिबास पुगेका छन्। प्रवक्ता शर्माले खातुनको हत्यापछि शुरु भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका बर्दिबास–१ का बुद्धिराज न्यौपाने सञ्जयका परिवारलाई पनि भेटेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीकी खातुनको हत्यापछि उक्त क्षेत्र तनावग्रस्त भएको थियो। मंगलबार प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका न्यौपानेको ग्राण्डी अस्पतालमा सोहीदिन मध्यरातमा मृत्यु भएको थियो।
प्रवक्ता शर्माले न्यौपानेको परिवारका सदस्यलाई भेटेका समवेदना प्रकट गरेका छन्। साथै शर्माले घटनास्थल आसपासका सरोकारवाला, जनप्रतिनिधि र राजनीतिक दलका नेता कार्यकर्तासँग भेट गरेको छन्।
प्रहरीको गोलीबाट ज्यान गुमाएका न्यौपानेकी श्रीमती गंगा र छोरा सुलभ कोरामा बसेका छन्। घटनाका विषयमा छानवीन गर्नका लागि गृह मन्त्रालयले छानवीन टोली गठन गरेको छ।
६ वर्षीया बालिकाको हत्यापछि न्यायको माग गर्दै महोत्तरी जिल्लाको बर्दिबासका स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए। मंगलबार स्थानीयबासीको प्रदर्शन उत्कर्षमा पुगेपछि प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए। महोत्तरीमा उपचार हुन नसकेपछि दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो। गम्भीर घाइते बर्दिबासका श्याम कार्कीको ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ। कार्कीको घाँटीमा गोली लागेको छ।
त्यसैगरी, बर्दिबासका अफ्ताब आलमसहित एक दर्जनभन्दा बढी स्थानीयबासी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। स्थानीयबासीको भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित १५ जना प्रहरी घाइते भएका थिए।
महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको थियो। जिल्लाको बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव शाह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो।
घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो। बालिकाको शव बर्दिबास–१४ कै शुभम् वस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको हाे।
बर्दिबास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
बालिकाको नियोजित हत्या गरेको आशंकामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक चापागाईंले बताएका थिए।
खातुनका हत्यारालाई कानूनी कारबाहीको माग गर्दै मंगलबार प्रदर्शन भएको थियो। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्ग अवरुद्ध पारेका थिए।
सोही क्रममा प्रहरीले सडकको अवरोध खुलाउन खोज्दा प्रदर्शनकारी आक्रोशित भए। र, प्रहरीमाथि ढुंगा प्रहार गरे। जवाफमा प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर न्यौपानेसँगै स्थानीय श्याम कार्की घाइते भएका छन्। कार्कीको ग्राण्डी हस्पिटलमा उपचार हुँदैछ।