उनको सपना थियो– डाक्टरको पढाई पुरा गर्ने। र, नेपालीको सेवा गर्ने। यही उद्देश्यले उनी संयुक्त राज्य अमेरिका पुगेका थिए।
तर, बिरामीको उपचार गर्दा–गर्दै डा. रोशन झा संसारबाट भौतिक रुपमा बिदा भए। न्यूयोर्कस्थत रोचेस्टर जनरल अस्पतालमा काम गर्दा–गर्दै डा. झाको निधन भएको हो।
पारिवारिक श्रोतका अनुसार ३३ वर्षीय झाको हृदयघात भइ निधन भएको हो। ‘बिहान बिरामी जाँच गरेर आराममा हुनुहुन्थ्यो, तर दिउसो हृदयघात भएपछि उहाँको निधन भयो,’ एक आफन्तले भने।
धनुषा घर भएका डा. झाले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका थिए। काठमाडौंको अलका अस्पतालमा काम गरेपछि उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका थिए।
मधेशी एशोसिएसन इन अमेरिकाका महासचिव संगीत रौनियारका अनुसार डा. झाकी श्रीमती स्वेता ठाकुर पनि अमेरिकामै छिन्। ‘डाक्टर झा कोरोना प्रकोपमा पनि निरन्तर स्वास्थ्य सेवामा खटिनु भएको थियो, तर दुर्भाग्य उहाँको निधनको खबर आयो,’ रौनियारले भने।