कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ। बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थित झिल्टुङमा आकस्मिक अवतरण गरेको वागमती प्रदेशका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए।
चीलसँग ठाेकिएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ। हेलिकप्टरमा सवार ६ जनामध्ये एकजनाको हात र खुट्टामा सामान्य चोट लागेको लामाले बताए। हेलिकप्टरमा पाइलटसहित बेलकोट नगरपालिका– ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार रहेको खुलेको छ।
पाईलट दिपक गर्बुजा पुनले ठूलो दुर्घटना हुनबाट बचाँएका छन्। हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ।