गैरआवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरमाथि नेपालमा कोरोना बिरामीको उपचारका लागि पठाएको रकम गायब पारेको आरोप लागेको छ।
पोर्चुगलमा रहेका एक नेपालीले नेपालमा रहेका आफन्तलाई संघका कोषाध्यक्ष विक्रमजंग कुँवरमार्फत् पठाइएको रकम आफन्तले नपाएको गुनासो गरेका हुन्।
कुँवर पोर्चुगलको लिस्वनस्थित लक्ष्मी ट्राभल्सका सञ्चालक हुन्। लक्ष्मी ट्राभल्सबाट पठाएको रकम महिना दिनसम्म पनि भुक्तानी नगरेको गुनासो पीडितले गरेका छन्।
लक्ष्मी ट्राभल्समार्फत् नेपालमा कोरोना संक्रमित आफन्तको उपचारका लागि गत ३० अक्टोबरमा २ लाख पठाएका थिए।
ट्राभल्समार्फत् नेपाल पठाएको रकम लामो समयसम्म पनि भुक्तानी नभएपछि ती नेपालीले आफ्नो रकम फिर्ता गर्न संघका कोषाध्यक्ष कुँवरसँग कयौं पटक अनुरोध गरे।
तर, कुँवरले अनेकौ बहाना बनाउँदै सधैँ पन्छिने गरेको पीडितले बताए। सेवाग्राही नेपालीलाई यो कुरा बाहिर ल्याए ठिक नहुने चेतावनी पनि कुँवरले दिए।
एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेलाई पनि कोषाध्यक्ष कुँवरको ‘बद्मासी’बारे जानकारी गराएको बताएका छन्। ‘मैले संघका अध्यक्षलाई पनि यस विषयमा जानकारी गराएको छु, पैसा नेपाल पठाउन नसकेपछि तत्कालै फिर्ता दिनुपर्थ्यो, त्यो नभएपछि मैले मिडियालाई जानकारी गराउनुको विकल्प रहेन,’ ती पीडितले भने।
साइबर अपराधमा मुद्दा हाल्छुः कुँवर
लक्ष्मी ट्राभल्सका सञ्चालक विक्रमजंग कुँवरले आफूमाथि नियोजित रुपमा आफूविरुद्ध प्रचार भएको बताएका छन्। रकम ठगीको विषयमा केही नबोलेका कुँवरले पीडित व्यक्तिमाथि नै मुद्दा हाल्ने धम्की दिएका छन्।
‘मैले व्यवसाय शुरु गरेदेखि नै मेरो चरित्र हत्या गर्ने र व्यवसायलाई नोक्सान पुर्याउने अत्यन्त दुषित, गलत र पुर्वाग्रही मानसिकताले प्रचार भइरहेको छ,’ कुँवरले फेसबुकमा लेखेका छन्, ‘यस्तो खालको मेरो चरित्र हत्या गर्ने र कम्पनीको शाख गिराउने झुट्टा र कपोकल्पित समाचारविरुद्ध साइबर क्राइमअनुसार कानूनी कारबाहीको प्रक्रिया पनि अगाडि बढाएको छु।’
सञ्चालक कुँवरले आफ्नो ट्राभल्स, टिकेटिङ र मनी ट्रान्सफरको कम्पनी र व्यवसायलाई पोर्चुगल सरकारको नीति, नियम र कानूनको अधिनमा रहेर सञ्चालन गरिरहेको बताउँदै लक्ष्मी ट्राभल्स कम्पनी पोर्चुगलमा नेपाली र अन्य आप्रवासी समुदायमा भरपर्दो र विश्वासनीय सेवा दिने कम्पनीका रुपमा परिचित रहेको दावी पनि गरेका छन्।