‘केही गर्न’ र परिवारको हित होस् भनेर विदेशिएका धेरै नेपाली अथाह पीडामा छन्। यसको पुष्टि कुवेतमा पछिल्लो समय देखिएका देहत्यागका घटनाले पनि प्रष्ट्याएको छ।
कुवेतमा श्रम गर्नका लागि पुगेका सबै नेपालीहरू सकुशल आउँदैनन्। कोही दुर्घटनाले बाकसमा आउँछन्। कोही अरु नै केही कारणले देहत्याग गर्न पुग्छन्।
त्यस्तै एउटा अप्रिय खबर कुवेतमा घटेको छ। भरतपुर महानगरपालिका–१८ चनौलीकी ३३ वर्षीया सीतादेवी नेपालीका अनेक सपना कुवेतमै अस्ताएका छन्।
शनिबार स्थानीय समयअनुसार साँझ करिब ६ बजे कुवेतको फरवानियास्थित कम्पनीको आवासमा नेपालीको शव फेला परेको हो।
लासपालमास कम्पनीमा विगत ६ वर्षदेखि कार्यरत रहँदै आएकी नेपालीले देहत्याग गरेको प्रारम्भिक रिपोर्ट आएको छ।
उनी कार्यरत कम्पनी र मृतकको परिवारसँग समन्वय गरी कानूनी प्रक्रियामा सहयोग गर्ने कुवेतस्थित नेपाली राजदूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले बताएका छन्।
यद्यपि, उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन। घटनाका बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
नेपाली घर बिदामा गएर आएको एक वर्ष मात्र भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। मृतक नेपालीको घरमा श्रीमान्, एक छोरा र एक छोरी छन्।