भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको उपाधि अष्ट्रेलियाले जितेको छ। सिरिजको पहिलो खेलमा ६६ रनले विजयी भएको अष्ट्रेलियाले दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै एक खेल अगावै सिरिज उपाधि कब्जा गरेको हो।
अष्ट्रेलियाले दिएको ३ सय ९० रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन मात्र बनाउन सक्यो।
भारतका लागि कप्तान विराट कोहलीले ८७ बलमा ८९ रनको योगदान दिए। त्यस्तै, केएल राहुलले ६६ बलमा ७६ रन, श्रेयस अय्यरले ३८ रन, शिखर धवनले ३० रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो पारी खेल्न सकेनन्।
अष्ट्रेलियाको बलिङमा प्याट क्युमिन्सले ३ विकेट, जोश हज्लेउडल र आडम जम्पाले समान २–२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो।
अष्ट्रेलियाको लागि ब्याट्सम्यान स्टेभेन स्मिथले शतकीय पारी खेले। उनले ६४ बलमा १४ चौका र २ छक्काको मद्धतमा एक सय ४ रन बनाए।
त्यस्तै, ओपनर डेविड वार्नरले ७७ बलमा ८३ रन, कप्तान आरोन फिन्चले ६९ बलमा ६० रनको योगदान दिए। अष्ट्रेलियाको पारमिा मार्नुस लबुस्चांगेले ७० रन र ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रन बनाए।
भारतको बलिङमा मोहम्मद शामि, हार्दिक पाण्डेय र जसप्रीत बुम्राहले समान एक–एक विकेट लिए।