सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादलाई दुई छिमेकी देश चीन र भारतले चासोका साथ हेरिरहेका छन्। चीन जुटाउने पक्षमा देखिन्छ।
तर, भारतले नेकपाको एकता चाहेको थिएन। र, अहिले पनि फुट्नका लागि कुनै न कुनै रुपमा दबाब दिइरहेको छ। नेकपाको एकतासँग भारतको अप्ठ्यारो छुट्टै छ।
नेपालको आन्तरिक राजनीतिमा सधैं ‘माइक्रो म्यानेजमेन्ट’मा प्रभावी देखिने भारत अहिले केही कमजोर बनेको छ। तर, उसका अनेक कसरत जारी नै छन्।
यसैबीच, पछिल्लो समय अलि बढी नै सक्रिय रहेको उत्तरी छिमेकी चीनले ‘नेकपाको एकता जोगाउन प्रधानमन्त्री पद छोडेर भए पनि योगदान गर्न’ नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएको खुलेको छ।
सत्तारुढ नेकपाका एक नेताका अनुसार मंसिर २ गते भएको भेटमा प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले ‘प्रधानमन्त्री पदबाट राजीनामा दिन’ घुमाउरो तरिकाले सुझाव दिएकी हुन्।
‘प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म भएको छलफलमा प्रधानमन्त्रीजीलाई राजीनामा दिनुस्, पार्टी एकता बचाउनुस् भन्ने सुझाव आएको रहेछ,’ नेकपाका ती केन्द्रीय सदस्यले भने।
छलफलमा प्रधानमन्त्रीले ५ वर्षको म्याण्डेट पाएको सरकारको नेतृत्व नछोड्ने आशय व्यक्त गरेको ती नेताले बताए। ओलीले योगदान गर्नुपर्दा आफूले मात्र नभई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि योगदान गर्नुपर्ने बताएको ती नेताले जानकारी दिए।
‘दोश्रो पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरणको प्रसंग अहिले पार्टी भित्रको ओलीजीको समूहले जोडतोडले उठाइरहेको कारण पनि आफूमाथि आएको राजीनामाको दबाबपछिको एउटा खेल मात्रै हो,’ ती नेताले भने।
चिनियाँ राजदूतको सुझावलाई नैतिक दबाबको रुपमा बुझेका ओलीले यस विषयमा आफू निकट नेताहरूसँग छलफल गरेको पनि ती केन्द्रीय सदस्यले बताए।
आन्तरिक विवादका कारण फुट नजिक पुगेको नेकपाको एकता जोगाउन चिनियाँ राजदूत यान्छीकै पहलमा रोकिँदै आएको बुझ्न गाह्रो छैन।
गएको वैशाखमा पनि नेकपा सचिवालय बैठकमा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। त्यसपछि चिनियाँ राजदूत यान्छीले अध्यक्ष प्रचण्ड, ओली, माधवकुमार नेपालसहितका शीर्ष नेतालाई भेटेकी थिइन्।
त्यसपछि असारको स्थायी कमिटी बैठक पनि पेचिलो बनेपछि राजदूत यान्छीकै सक्रियताले विवाद केही मत्थर भएको थियो।
मंसिर २ गते प्रधानमन्त्री ओलीलाई भेट्नुअघि राजदूत यान्छीले अध्यक्ष प्रचण्डलाई पनि भेटेकी थिइन्। मंसिर ३ गतेको नेकपा सचिवालय बैठकमा शीर्ष नेताहरूको तर्फबाट प्रचण्डले ओलीमाथि गम्भीर प्रश्नसहितको प्रस्ताव पेश गरेपछि पार्टीको आन्तरिक विवाद झनै चुलिएको छ।
नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन्। प्रचण्डको पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामवदेव गौतम र नारायणकाजी श्रेष्ठ छन्।
ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रत्योत्तरपछि नेकपाको आन्तरिक एकता संकटमा परेको निर्क्यौल पार्टीपङ्क्तिबाट भइरहँदा अब चीन र भारतको रोल कस्तो हुन्छ भन्ने चाहिँ हेर्न बाँकी छ।