स्पेनिस ला लिगाको २६ पटकको उपाधी विजेता बार्सिलोना गत सिजनको ला लिगामा कमजोर देखियो। एकैनासको खेल प्रदर्शन गर्न नसकेको बार्सिलोनाले गत सिजन उपविजेतामा नै चित्त बुझायो।
जारी सिजनमा बार्सिलोनाको प्रदर्शन गत सिजनको भन्दा पनि खराब छ। ८ खेल खेलिसक्दा ३ खेलमा मात्र जीत निकालेको बार्सिलोनाले ९ औं खेलमा आइतबार ६ः४५ बजे ओसासुनाको सामना गर्दै छ।
अंक तालिकामा १४ औं स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमा ओसासुनाविरुद्ध जीत निकाल्दै ला लिगामा गुमेको लय पुनः समात्ने प्रयासमा हुनेछ। ओसासुना बार्सिलोनालाई उसैका घरमा पराजित गर्दै अंक तालिकामा फड्को मार्ने दाउमा छ।
९ खेलमध्ये ३ खेलमा जीत निकालेको ओसासुना अंक तालिकाको १५ औं स्थानमा छ। ओसासुनाविरुद्ध बार्सिलोनाको आक्रमण कप्तान लियोनल मेसी, मार्टिन ब्रेथवेट र ग्रिजम्यानले समाल्ने भएका छन्।