अष्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेविड वार्नर घाइते भएकामा भारतीय क्रिकेटर केएल राहुलले खुशी व्यक्त गरेका छन्। राहुलले घाइते भएका वार्नर भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा मैदान उत्रने नसक्ने भन्दै खुशी व्यक्त गरेका हुन्।
‘मलाई थाहा छैन, उनको चोट कति गम्भीर छ। उनी लामो समयसम्म घाइते नै रहिदिए राम्रो हुन्छ,’ केएल राहुलले भने, ‘उनी अष्ट्रेलियाका मुख्य ब्याट्सम्यान हुन्। कसैको लागि यस्तो कामना गर्नु राम्रो त होइन तर, टिमको लागि राम्रो हुन्छ। उनको चोट लामो समयसम्म रहे भारतको लागि राम्रो हुन्छ।’
सिरिजको पहिलो र दोस्रो खेलमा भारतविरुद्ध वार्नरले शानदार प्रदर्शन गरेका थिए। पहिलो खेलमा ६९ रन बनाएका वार्नरले दोस्रो खेलमा ८३ रनको पारी खेलेका थिए। वार्नरले एकदिवसीय मात्र नभएर टी–२० सिरिजका खेल पनि गुमाउन सक्ने भएकाले राहुलले खुशी व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
भारतविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा वार्नर घाइते भएका थिए। फिल्डिङ गर्ने क्रममा उनलाई चोट लागेको थियो। चोटपश्चात मैदानमा छटपटाएका वार्नरलाई फिजियोको टिमले मैदान बाहिर ल्याएको थियो।