साथीको घर गएको छोरो फर्किएला भनेर साँझसम्म आमाबाबुले बाटो हेरिरहे। तर, छोरो फर्किएन। पकाएर राखेको खाना खान बसे पनि छोरो नफर्किएपछि श्रीमान्–श्रीमतीलाई खान मन लागेन।
बस्! दुवै जना बाटो हेरिबसे। तर, अर्को दिनपछि पनि ५ दिनसम्म बाटो हेरेका सुनसरीको दुहबी नगरपालिका–३ भीरगाउँका एक दम्पत्तिमाथि अहिले छोराको वियोग आइपरेको छ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन यही मंसिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए।
साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिइएको थियो। तर, ५ दिनपछि उनको शव फेला पर्यो।
दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएको अवस्थामा फेला परेको हो। घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो।
उनी हराएको प्रहरीलाई जानकारी गराइएको चार दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ।
कक्षा १२ मा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुन सक्ने प्रहरी उपरीक्षक कमल थापाले बताएका छन्। घटनामा संलग्न रहेको आशङ्कामा दुहबी–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।