सरकारले केहि समयअघि सबै स्थानीय तहमा अस्पताल पुर्याउने घोषणा गर्याे। उपचार अभावमा कसैले पनि ज्यान गुमाउनु पर्दैन भन्ने सरकारको भनाइ भनाइमै सिमित भएकाे छ।
समयमा उपचार नपाउँदा अछाममा जीउ नै सिरिङ्ग हुने घटना घटेको छ। उपचारकै अभावमा एक नारीले आफ्नो गर्भमा रहेको शिशुलाई सुन्दर संसार देखाउन सकिनन्। त्यति मात्र हैन, समयमा उपचार नपाउँदा उनी यो संसारबाट सदाका लागि बिदा हुन विवश भइन्।
उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ। जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो।
समयमै उपचार पाएको भए नामसरा र उनको शिशु बचाउन सकिने डाक्टरको भनाइ छ। विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन्। सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको गए राति ज्यान गएको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ।
‘रक्तस्राव निकै बढी भएको रहेछ’, डा. भारद्वाजले भने, ‘ढिलो गरी अस्पताल ल्याउँदा उहाँको मृत्यु भयो।’ उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जानकारी दिएको छ। मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ।