नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पत्र र राजनीतिक प्रस्तावको मूल्यांकन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएको बताएका छन्। प्रचण्डले राजनीतिक प्रस्तावको मूल्यांकन पार्टी बैठकले गर्नुपर्ने जानकारी दिएका हुन्।
मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधामन्त्री ओलीले प्रचण्डको पत्रलाई आरोपपत्रको संज्ञा दिँदै पत्र पूर्वाग्रहपूर्ण रहेको प्रतिक्रिया दिएका हुन्। बैठकमा उनले प्रचण्डले आफूमाथि लाञ्छना लगाएकाले त्यो फिर्ता नलिएसम्म बैठक नबस्ने धम्कीसमेत दिएका थिए।
तर, प्रचण्डले कर्णाली प्रकरण, वीरगञ्ज प्रकरण र भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटघाटबारे सोध्दा ओली मौन बसेका कारण आफूसहित सचिवालयका पाँच जना नेताहरूले पत्र लेखेको जानकारी दिएका थिए।