बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ। बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो। उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र हो।
फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो। तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ।
बीबीसीका अनुसार केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिन सु्रु गरिनेछ। बेलायतले करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ। पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जानकारी दिएको छ। फाइजरले अहिलेसम्मकै छोटो समयमा खोप बनाएको हो। यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो। यसअघि खोप बनाउन वर्षौं लाग्ने गर्य।
बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै मगाइसकेको छ। कोरोना खोप शुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ।
बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको बताइएको छ।