अस्पतालमा श्रीमान्। घरमा श्रीमती चिन्ताले ग्रस्त। कोरोना संक्रमणबाट पीडित आफ्ना पतिको प्रतिक्षामा रहेकी थिइन् उनी।
तर, श्रीमान् सिकिस्त छन् भन्ने सुनेपछि सम्हालिन सकिनन्। जीवनभरि सँगै यात्रा गर्ने कसम खाएका थिए उनीहरूले।
तर, अस्पतालमा उपचार गराइरहेका आफ्ना पतिको अवस्था गम्भीर भएको सुनेपछि फाकफोकथुम गाउँपालिका–४ की अम्बिका मगरले प्राण त्यागिन्।
हर्टअट्याकका कारण मंसिर १५ गते उनको मृत्यु भयो। तर, श्रीमतीको मृत्यु खबरले पिरोलिएका उनका श्रीमान् डबलसिंह मगरको पनि मंगलबार राति मृत्यु भएको हो। मगर महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत थिए।
मगरलाई कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका मगरको मंसिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो।
८ गते नै मगरको स्वाब संकलनको रिपोर्ट पोजेटिभ आएको थियो। उपचाररत उनलाई मंसिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो।
अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठ्यारो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको बताइएको छ।
मंसिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले जानकारी दिएका छन्। श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ।
मगर दम्पत्तिकाे निधनपछि इलाममा शाेक छाएकाे छ। विभिन् क्षेत्रका अगुवाल मगरकाे निधनप्रति शाेक व्यक्त गरेका छन्।