सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गते बस्नेगरि बैठक सकिएको हो।
यससँगै बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ। स्थायी कमिटी मंसिर २१ मा बस्नेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्यव्यस्तता कारण ओली बुधबार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए। तर आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका जनाइएकाे थियाे।
मंगलबारको सचिवालय बैठकमा भनाभन भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार १ बजे बैठक बस्ने सूचना दिएका थिए। तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए।
यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ। दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ।