नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी र दुर्व्यवहारलाई सर्वसत्तावादको संकेतका रुपमा व्याख्या गरेका छन्।
सभापति देउवाले वक्तव्य जारी गरी सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देश व्यापी प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्।
‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाले भनेका छन्।
सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग गरेका देउवाले अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न सरकारलाई चेतावनी दिएका छन्।
‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु,’ देउवाले भनेका छन्।
याे पनि पढ्नुहाेस्
श्रीमतीको दुखान्त वियोग सहन सकेनन् ‘डबल सर’ले, लिए सदाका लागि विश्राम