एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ। सिरिजको यसअघिको दुई खेल हार्दै सिरिज उपाधि गुमाएको भारतले अन्तिम खेलमा १३ रनको जीत निकालेको हो।
भारतले दिएको ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै २ सय ८९ रनमा समेटियो।
अष्ट्रेलियाको लागि कप्तान आरोन फिन्चले ८२ बलमा ७५ रनको योगदान दिए। त्यस्तै, ग्लेन म्याक्सवेलले ३८ बलमा ५९ रन, अलेक्स कारीले ३८ रन, अस्टोन सागरले २८ रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो पारी खेल्न सकेनन्।
भारतको बलिङमा शार्दुल ठाकुरले ३ विकेट लिए। जसप्रित बुम्राह, टी नटरजनले समान २–२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले अन्तिम खेलको निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो। भारतको पारीमा हार्दिक पाण्डेयले आक्रमक ब्याटिङ गर्दै ७६ बलमा ९२ रन बनाउँदा रविन्द्र जडेजाले ५० बलमा ६६ रन बनाए।
त्यस्तै, कप्तान विराट कोहलीले अर्धशतक बनाए। ७८ बलको सामना गरेको कोहलीले ५ चौकाको मद्धतमा ६३ रन बनाए। अर्का ब्याट्सम्यान शुब्मन गिलले ३३ रन, शिखर धवनले १६ रन, श्रेयस अय्यरले १९ रन बनाए।
अष्ट्रेलियाको बलिङमा अस्टोन अगरले २, आडम जम्पा, जोश हज्लेउड र सिन अब्बोटले समान एक एक विकेट लिए। सिरिजको पहिलो खेलमा भारतलाई ६६ रनले पराजित गरको अष्ट्रेलियाले दोस्रो खेलमा ५१ रनको जीत निकाल्दै सिरिज उपाधि कब्जा गरिसकेको छ।