महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महोत्तरी माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति दुर्घटना भएको हो। गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा गएराती १० बजे दुर्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ।
राति तीव्र गतिमा हाँकिएको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी गौशाला–८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए। घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
कम चौडाइ भएको सडकको चारतिर (बर्दिबास, सम्सी, इटाटार र रजखोर) तर्फको सडकबाटो छुट्टिने सो चौरस्ता चोकमा यसअघि पनि बाक्लै दुर्घटना हुँदै आएको छ। राति तीव्र गतिमा हाँकिएको मोटरसाइकल एकतिर मोड्ने क्रममा नियन्त्रण गुमेर पार्कमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ। मृतक पाचेले मोटरसाइकल हाँकेको र बलम्पाकी पछाडिको सिटमा बसेका बुझिएको प्रहरीले जाकारी दिएको छ।