जाडो महिना। बन्द कोठा। न्यानोपनका लागि बालिएको हिटर। दोर्जे शेर्पालाई कहाँ थाहा थियो र, न्यानो बनाउने त्यही हिटरले आफ्नो जीवनको न्यायोपन सधैंका खोसिन्छ भनेर।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएका सिन्धुपाल्चोकका दोर्जेमाथि सोच्दै नसोचेको विपत्ति आइपरेको छ। कोठामा बालिएकै हिटरका कारण उनले आफ्नो एक महिने छारी गुमाएका छन्। आफ्नी श्रीमतीलाई सदाका लागि बिदा गर्न विवश भएका छन्।
कोठामा निस्सासिएर दोर्जेकी श्रीमती २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरीको मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीका अनुसार राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हो।
दोर्जे स्वयं पनि अचेत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको छ।
कोठामा भेन्टिलेटर नरहेको र हिटर बालेकै कारण दुई जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको डिएसपी कार्कीले जानकारी दिएका छन्।