झापामा पत्रकारमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमणविरुद्ध जिल्लास्थित पत्रकारका संघ–संगठनले आन्दोलनको चेतावनी दिएका छन्।
अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्यूज २४ का झापा संवाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुर्व्यवहारको विरोध गर्दै ६ वटा संगठनले आन्दोलनको चेतावनी दिएका हुन्।
नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, प्रेस संगठन झापा संयोजक मुक्ति पौडेल, प्रेस युनियन झापा इन्दु पुर्वेली, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, प्रेस नेपालका झापा अध्यक्ष देशराज नेम्वाङ र नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा सिवाकोटीले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको चेतावनी दिएका हुन्।
‘मिति २०७७ साल मंसिर १६ गते अपरान्ह लगभग ४ बजे मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी ईन्द्र राजवंशीलाई रु १०,०००।– (दश हजार) घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगि पत्रकार घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुलहुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेको घटनाको नेपाल पत्रकार महासंघ झापा शाखा लगायतका संघ संगठन घार निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यसैगरी मिति २०७७ साल मंसिर १२ गते भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले भन्सार छली सम्बन्धी रिपोर्ट प्रसारण नगर्न दबाब दिँदै दिएको ५० हजार रुपैयाँ घुस अस्वीकार गर्दा लछारपछार गर्दै कुटपिट गर्ने र क्यामेरा खोस्न जस्ता हर्कत गर्ने सुनुवार र कोठारीलाई अबिलम्ब कारबाही गर्न माग विज्ञप्तिमार्फत् माग गरिएको छ।
‘अतः पत्रकार तथा क्यामेरा पर्सनमाथि भएका यी दुवै घटना स्वतन्त्र पत्रकारितामाथिको आक्रमण भएकाले पत्रकार घिमिरे र क्यामेरा पर्सन श्रेष्ठमाथि मालपोत कार्यालय दमकमा आक्रमण गर्ने कर्मचारी इन्द्र राजवंशी र लेखापढीमा संलग्न व्यक्तिलाई अविलम्ब कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिए पनि प्रहरी प्रसाशनले कुटपिटमा संलग्नलाई कारबाही गर्ने प्रक्रियामा गरेको बिलम्बप्रति हाम्रो गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ।
यसैगरी, पत्रकार पौडेल र अर्यालमाथि आक्रमण गर्ने भन्सार कर्मचारी सुनुवार र व्यापारी कोठारीलाई कारबाही गर्न प्रसाशनसमक्ष माग गर्दै विज्ञप्तिमा पत्रकारमाथि आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल कारबाही नभए नेपाल पत्रकार महासंघ झापाको नेतृत्वमा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ।