गोरखामा एक पुरुषले कुटपटि गरी आफ्नै बाबुको ज्यान लिएका छन्। सामान्य विवाद हुँदा गोरखा सिरानचोक गाउँपालिका–८ का ४० वर्षीय भुवन ढकालले आफ्ना पिता ७० वर्षीय तुलाराम ढकालको ज्यान लिएका हुन्।
छोरा भुवन र बाबु तुलारामबीच धान झाँट्ने विषयमा विवाद भएको प्रहरीले जानकारी दिएको छ। कुटपटिबाट गम्भीर घाइते भएका तुलारामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारी लगिएको थियो। तर, स्वास्थ्य केन्द्र पुर्याइएको केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बाबुको हत्या गरेका भुवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।