झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको गाडी जलाउने प्रयास भएको छ। उप्रेतीले आफू चढेको मे१झ १७२ नम्बरको गाडी केही युवाले जलाउने प्रयास गरेको उप्रेतीले बताएकी हुन्।
गाडीभित्र रहेकी उप्रेती बाहिर आउन नपाउँदै दुई जना युवाले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उप्रेतीको दावी छ।
उप्रेती झापाको चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किने क्रममा गाडी जलाउने प्रयास भएको हो।
अपरान्ह ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन र चारआली खण्डमा बाटो छेकेर उपप्रमुख उप्रेतीको गाडीमा आगजनी गर्ने प्रयास भएको उनको दावी छ।
‘पेट्रोल छर्किएपछि सलाई निकालेर आगो लगाउन खोजे, ड्राइभरलाई जसरी भए पनि छिटो जाउँ भनेर अघि बढ्यौं, त्यति गर्दा पनि मोटरसाइकल तेर्स्याएर गाडीको बाटो छेके,’ उप्रेतीले भनिन्।
आफूलाई गाडीभित्र जलाउने प्रयास भए पनि अलिकति चलाखी गरे बँचेको उप्रेतीले बताइन्। इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घटनाका सम्बन्धमा अनुसन्धान थालेको जानकारी दिएको छ।