नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले इदी अमिन र केपी ओलीमा कुनै फरक नभएको बताएका छन्। तनहुँमा बुधबार प्रशासनले रोकेको पुल उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले केपी ओलीले संविधान कानून सबै आफै हुँ भन्ने अहम् देखाउन थालेको टिप्पणी गरेका हुन्।
नेता पौडेलले इदी अमिन र केपी ओलीमा कुनै फरक नभएको बताए। उनले तनहुँका सिडिओ सागर आचार्यलाई तत्काल तनहुँबाट सरुवा मागेर जान पनि सुझाव दिएका छन्।
सिडियो आचार्यसँग सिडिओ हुने योग्यता नपुगेको टिप्पणी गर्दै पौडेलले भने, ‘सिडिओ साव अब तनहुँमा नबस्नुहोला, रामचन्द्र पौडेल जतिको मान्छेलाई मैले पुल उद्घाटन गर्नबाट रोक्न मिल्दैन भनेर माथिल्लो निकायमा भन्न सक्नुभएन? हिजो पुल उद्घाटन गर्नबाट रोक्न निषेधाज्ञा जारी गर्नुभयो, रामचन्द्र पौडेललाई पक्राउ गर्नुभयो, आज खै सकेको? जनसागर देखेर डराउनुभयो? त्यसैले तपाईसँग सिडिओ हुने योग्यता रहेनछ, अब तनहुँमा नबस्नुहोला।’
केन्द्रीय सदस्य पौडेलले रामचन्द्र पौडेलमाथि योग्यता नपुगेको केटाकेटी सिडिओ र लोकतन्त्रका लागि कहिल्यै नलडेको एकजना ठेकेदार विचौलिया प्राविधिक कारण सांसद भएको मान्छे प्रहार गर्न हिम्मत गर्न नसक्ने बताउँदै केपी ओलीले नियतवश पौडेलमाथि प्रहार गरेको उल्लेख गरे।
नेता पौडेललेले तनहुँका सांसद किसान श्रेष्ठ एकदिन पनि कष्टडीमा नपरेको, पञ्चायतमा मात्रै होइन गणतन्त्रमा पनि नलडेको उल्लेख गर्दै सम्पति शुद्धिकरण विभाग ओलीको कब्जामा नभए छानवीन श्रेष्ठबाट शुरु हुने बताए।