संघर्षशील युवा रमेश प्रसाईको पहिचान एउटै मात्र छैन। रमेश कुशल वक्ता हुन्, जसले आफ्नो आवाजको दममा लाखौं शुभचिन्तक कमाएका छन्।
त्यति मात्रै होइन, हालसालै रमेशको स्वरमा अग्रज श्रष्टा, गायक सुरेश गन्धर्वको ‘रिंकिबुङको’ गीतमा सार्वजनिक भयो त्यस पश्चात उनको गायकी पनि प्रष्फुटन भयो।
चर्चाको शिखरमा रहेका रमेश अहिले विवाहको तयारीमा छन्। मंसिर २२ गते विवाह गर्ने रमेशले बालगृह सञ्चालन गरिरहेकी कालिकोट डिल्लीकोटकी नन्दा सिंहलाई श्रीमतीका रुपमा भित्र्याउने छन्।
नन्दाले अभिभावकविहीन बालबालिकाका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ संस्था सञ्चालन गरिरहेकी छिन्। अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई तथा बृद्धिविकासका सम्पूर्ण जिम्मेवारी लिएको छ। संस्था सञ्चालनमा नन्दाकी साथी गीता बस्नेतले सहयोग गरिरहेकी छिन्।
रमेशका साथी जीवन बिष्टले पनि सोही दिन विवाह गर्ने छन्। जीवनले आफूले जुनु तामाङसँग गर्ने जानकारी दिएका छन्। ताप्लेजुङमा जन्मिएका रमेश झापाको दुर्गा माविमा प्रारम्भिक शिक्षापछि उच्च शिक्षाका लागि धरान आएका हुन्।
रमेश र जीवन एक दशकभन्दा लामो समयदेखि धरानमा बस्दै आएका छन्। रेडियोबाट व्यावसायिक करिअर शुरु गरेका रमेश र जीवन अहिले व्यक्तित्व विकास र पब्लिक स्पिकिङमा पनि उत्तिकै सक्रिय छन्।
‘अरु–अरु प्रसंग जोडिन थालेपछि आफ्नो पात्र (प्रेमिका) ले दबाब दिँदा रहेछन्, तुरुन्तै विवाह गर्नुपर्ने भयो,’ बिहीबार धरान जाँदै गरेका रमेशले नेपाली पब्लिकसँग भने, ‘त्यसैले विवाहको तयारीमा जुटेको हुँ।’