प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नेतृत्व गरेको ३ महिना भयो। यो अवधिमा जिल्ला प्रहरी प्रमुख बोगटीले शान्ति सुरक्षासँगै सामाजिक रुपान्तरणका केही अभ्यास शुरु गरेका छन्। संसार बदल्नु छ भने शुरुआत आफैबाट गर्नुपर्छ भनेझैं प्रहरी उपरीक्षक बोगटीले नेपाल प्रहरीभित्रै नवीनतम् अभियान प्रारम्भ गरेका छन्। प्रहरीसँगै सामाजिक र पारिवारिक सद्भाव अभिबृद्धि हुने अपेक्षा बोगटीले गरेका छन्। किन शुरु भयो प्रहरीभित्रै सद्भावको अभियान र जिल्लाको नेतृत्व गरेपछि प्रहरी उपरीक्षक बोगटीले के–के गरे? आगामी योजना के छ? यिनै सन्दर्भमा प्रहरी उपरीक्षक बाेगटीसँग नेपाली पब्लिकका लागि आयुश चाैलागाईंले गरेकाे कुराकानीः
प्रहरीबाट परिवर्तनको शुरुआत गर्ने प्रयासको अन्तर्य के हो? र, आइलभयु बुढी, गुड नाइटको अवधारणाले सामाजिक जागरण आउनेमा कतिको विश्वस्त हुनुहुन्छ?
–प्रहरीहरू, सुरक्षाकर्मीहरू लामो समयसम्म बिदामा नपाउने, दशैंतिहार चाडपर्व भन्न नपाउने हुन्छ। अरु सबै कर्मचारीहरू दशैं बिदामा घर जाने रमाइलो गर्ने गर्छन्। तर, हामी प्रहरी कर्मचारीहरू बिदामा दशैंतिहार जस्ता चाडपर्वमा जान पाउँदैनौं। नागरिकको सुरक्षाको दायित्व हामीमाथि हुन्छ। विभिन्न कारणले गर्दा प्रहरी कर्मचारीलाई बिदा जाने अवसर पनि एकदमै कम हुने गर्छ। जसको कारण उसको परिवारसँगको दुरी सधैं हुन्छ। लामो समय बिदामा नजाने, परिवारसँग दुरी टाढा हुने, त्यति धेरै फोन सम्पर्क पनि नहुने भएकाले परिवारले आफ्नै पतिबाट असुरक्षित महसुस गर्न थाल्छन्। श्रीमतीले मेरो श्रीमान्ले मलाई माया गर्दैन कि भन्ने श्रीमान्ले श्रीमतीले माया गर्दिनन् कि भन्ने। शंकाको रुपमा हेर्ने, अनि झै–झगडा गर्ने र तनाव बढाउने, जसले गर्दा कार्यालयको कार्यसम्पादनमा पनि चुनौती हुने गर्छ। त्यसैले राम्रो काम गर्न नसक्ने र सधैं तनावमा हुने भएकाले पनि यो अभियान आवश्यक थियो।
‘आइलभ यू बुढी, गुड नाइट’ अभियानले पारिवारिक मिलनको भूमिका कसरी निभाउछ?
–सुरक्षाकर्मी हातहतियार लिएर बसेका हुन्छन्। सधैंको झगडा र तनावले गर्दा उसले आफ्नै ज्यान पनि लिनेजस्ता घटना पनि देखिएका छन्। यो संवेदनशील विषय पनि भयो। केही प्रहरीका श्रीमतीहरू त कार्यालयमा आएर रुने, कराउने गर्छन्। श्रीमान्ले फोन गर्दैन, माया गर्दैन भनेर लामो समय बिदामा आउँदैन भनेर गुनासो गर्छन्। राम्रो पारिवारिक सम्बन्ध भएको प्रहरीले मात्र उच्च कार्य सम्पादन गर्छ। र, तवानरहित हुन्छ, र मुस्कानसहितको सेवा दिनसक्छ। यसको मुख्य उद्देश्य वा परिकल्पना यही नै हो।
त्यसका लागि उसको परिवारसँग आत्मीयता बढाउनुपर्यो। माया दर्शाउनुपर्यो। माया भित्र–भित्र गरेर त भएन। म श्रीमतीलाई मनमनै एकदमै माया गर्छु भनेर भएन। त्यस कुरालाई एक्स्प्रेस गर्नुपर्यो। श्रीमतीले फिल गर्नुपर्यो नि मेरो श्रीमान्ले मलाई कति माया गर्छ भनेर। मेरी बुढी आइ लभ यू, मेरो छोरा आइ लभ यू, आइ लभ यू छोरी भनेपछि श्रीमतीसँगै बालबच्चासँग पनि आत्मीयता बढ्छ। उ मुस्कुराएर सुत्छ, मुस्कुराएर उठ्छ। त्यसो भएमा परिवार पनि खुशी सुत्छ, खुशी भएर उठ्छ।
अघिल्लो दिनमा झगडा गरी रिसाएर सुतेको श्रीमतीले भोलिपल्ट बिहान उठेर गाग्री लिएर पानी लिन पधेँरामा जाँदा गाग्री खसालेर कुच्याएर फाल्नेबाहेक काम त केही गर्दिनन्। बालबच्चालाई गाली गर्ने, रिसाउने कराउने सबै कुराको एउटै समाधान त सुमधुर पारिवारिक सम्बन्ध नै हो नि। त्यसका लागि मैले मेरो परिवारलाई माया गर्छु भन्ने अनुभूति दिलाउनुपर्यो। बुढी गुड नाइट, आइ लभ यू बुढी, आइ लभ यू छोरा, छोरी गुड नाइट भन्ने नै हो।
‘आइ लभ यू बुढी, गुड नाइट’ भन्ने अवधारणा कसरी आयो? पारिवारिक मिलनको प्रस्थानविन्दू यही नै हुन्छ भन्ने आधार के छ?
–प्रहरीले मात्रै होइन समाजका हरेक नागरिकले यो विधि अपनाए समाज सुधार हुन्छ। माया प्रेममा बृद्धि हुन्छ। अर्काको श्रीमतीलाई फेला पार्यो भने छड्के परेर आइ लभ यू ठोकिहाल्ने। तर, हामी आफ्नो परिवारलाई चाहिँ कहिल्यै पनि आइ लभ यू भन्न नसक्ने। केही दिनअघि मात्रै एक जना कृषिका हाकिससँग मेरो कुराकानी भएको थियो। मैले हाम्रा सहकर्मीहरूसँग कुरा गर्दागर्दै उहाँ आउनुभएको थियो। यही विषयमा छलफल हुँदै थियो। उहाँ आएर राति ८ बजे मेरै अगाडि श्रीमतीलाई फोन गरेर आइ लभ यू बुढी भन्नु भयो, विवाह गरेको २५ वर्षमा पहिलोपटक आइ लभ यू भन्नुभयो।
यतिका वर्ष बुढीलाई आइ लभ यू भन्नुभएको रहेनछ। उहाँकी श्रीमती त छक्क! के भन्नुहुन्छ, मेरा बुढा पागल हुनुभएछ कि क्या’हो भन्नु भएछ। हामीले चाहिँ माया गर्न सिकेनौँ। माया गर्न नसिके पछि डिप्रेशनमा जाने, काम गर्न नसक्ने, सुसाइड गर्ने, पारीवारिक सम्बन्ध नमिल्ने, बहुविवाह गर्ने, अनैतिक सम्बन्ध गाँस्ने आदि घटनाहरू घट्ने भए। अस्ति मात्रै एउटा आर्मी केटालाई जबरजस्ती करणीमा पक्राउ गरेर मुद्दा दायर गर्नुपर्यो। यस्ता अनेकौ घटना छन्। पारिवारिक मेलमीलाप गर्न नसकेको कारणले नै यस्ता घटना भएका हुन्। त्यसैले पारिवारिक सद्भावका लागि यो एकदमै राम्रो कुरा हो।
तपाईले शुरु गर्नुभएको अभियान सुन्दा सामान्य लाग्छ? तर, यसको सामाजिक पक्ष निकै गहिरो छ भन्ने विश्लेषण गर्नु भएको छ?
–मान्छेले हेर्दा, बुझ्दा ओ हो आइ लभ यू भन्छ भन्ने पनि लाग्न सक्छ। केटाकेटीहरूले सामान्य रुपमा लिन सक्छन्। तर, यसले पार्ने प्रभाव दीर्घकालीन हुन्छ। एउटा परिवार, दुईवटा परिवारमा यसको प्रभाव राम्रो हुन्छ। तर, सिंगो समाजमा पार्ने असर झन् बृहत हुन्छ। यो अभियान शुरु गरेपछि महिला अधिकारकर्मीहरूले फोन गर्नु भएको थियो। यो अभियान प्रहरीको कोर्षमै राख्नुपर्छ भन्नुभयो। तालिमकै क्रममा परिवार व्यवस्थापन सिकाउनुपर्छ भन्ने सुझाव उहाँहरूले दिनुभयो। हाम्रा प्रहरीहरूले कार्य सम्पादन गर्दा एकदमै बल प्रयोग गर्यो, गोलीहरू हान्यो भन्ने यथावत कुराहरू आउछ नि, यसका पछाडि पारिवारिक तनाव व्यवस्थापनका पक्षले भूमिका खेलिरहेको हुन्छ। त्यसमा पनि तनाव टाउकोभरि बोकेर मुस्कानसहितको सेवा गर्न सक्दैनौं। त्यसैले तनावमुक्त पारिवारिक वातावरणकै लागि यो अभियान प्रारम्भ गरिएको हो।
किरण बेदी दिल्ली प्रहरी प्रमुख हुँदा भारतको केन्द्रीय कारागार तिहाडमा विपश्यना शिविर सञ्चालन गर्नुभएको थियो। त्यसबाट कैदीबन्दीको सोचमा ठूलो परिवर्तन आएको दावी गरिन्छ। एक प्रहरीले गरेको सामान्य कामले समाज रुपान्तरणका लागि ठूलो भूमिका खेल्ने रहेछ भन्ने दृष्टान्त स्थापित गर्न खोज्नु भएको हो?
–हो। त्यो एकदमै राम्रो अभियान थियो। हाम्रोमा पनि त्यस्ता धेरै अभियानहरू सञ्चालन गरिएको छ। समाजमा समारात्मक परिवर्तन पनि देखिन थालेको छ। हामीले मनिटर पनि गर्छौं। के कसो छ भनेर परिवारलाई फोन पनि गर्छौं। अस्ती एक जनासँग फोनमा सँग कुरा गरेँ। राम्रोसँग नेपाली बोल्न नजान्ने उहाँसँग मैले ‘तपाई बुढाले फोन गर्नुहुन्छ’ भनेर सोधेको थिएँ। ‘उहाँले अहिले बेलाबेलामा फोन गर्नु हुन्छ, कस्तो खुशी लाग्छ। सर, मलाई त भन्न पनि लाज लाग्छ अहिले त के–के भन्नुहुन्छ’ भनेर फोन राख्नुभयो। हाम्रो अभियानले एक परिवारमा प्रेम र सद्भाव कसरी भित्रियो भन्ने यसबाटै प्रष्ट हुन्छ।
यस किसिमका अभियानलाई प्रहरी र समुदाय जोड्ने कसीको रुपमा कसरी विस्तार गर्न सकिन्छ?
–यो एकदमै उदाहरणीय बन्न सक्छ। हामी धेरै नेपाली घरभन्दा बाहिर हुन्छौं। अधिकांश युवाहरू रोजगारीका लागि खाडी मुलुकमा जान्छन्। ४–५ वर्षमा घर आउँछन्। उनीहरू घरमा आउँदा न पैसा रहन्छ न परिवार रहन्छ। सबै छिन्नभिन्न भैसक्छ। त्यो परिवारले माया नपाउँदा यस्ता घटना हुुन्छ। विदेशमा रहनेले दिनदिनै घरमा फोन गरेर माया जताउन सक्नुपर्छ। श्रीमतीलाई पनि श्रीमान्ले माया गर्छ भन्ने अनुभूति गर्न पाएमा पारिवारिक विचलनका घटनाहरू कम हुन्छन्। स्याङ्जा जिल्ला देहत्याग गर्नेमा नेपालको टप ५ जिल्लामै पर्छ। अधिकांश आत्महत्या श्रीमान्–श्रीमतीको झगडा, बेमेल, एकअर्का बीचको शंका र एकअर्काबीच असुरक्षित महसुुसका कारणले हुने गर्छ। बुधबार मात्रै एउटा ४८ वर्षीय महिलाले श्रीमान् श्रीमतीबीचको झगडाकै कारण कालीगण्डकीमा हाम फालिन्।
त्यसकारण हामीले आफ्नो परिवार, बालबच्चालाई माया गर्नुपर्छ। माया लुकाएर व्यक्त गरेर माया देखाउनुपर्छ। थाहा पाउने गरी माया गर्नुपर्छ। माया देखिएमा समाजमा हुने विकृत्ति कम हुन्छ। एउटा बाबुले छोराछोरीलाई गालीगलौज गरेर पिटेर भन्दा त आइ लभ यू छोरा, आइ लभ यु छोरी भनेर सम्झाएर गलत बाटो हिँड्नबाट जोगाउन सकिन्छ। हामीले प्रहरीमा त यस्तो लागू गर्यौं। समाजमा पनि यसको सिको गरियो भने एउटा नयाँ र राम्रो समाज निर्माण गर्न सकिन्छ।
आगामी कार्यक्रमहरू के–के छन्?
–अहिले नियमित कामै छुँ। जिल्लामा शान्तिसुरक्षालाई प्रभावकारी बनाउनका लागि हामी जुटेका छौं। त्यस्तो ठ्याक्कै यही गर्ने भन्ने केही छैन। तर, काम गर्दै जाँदा जहाँ आवश्यक छ त्यहीँबाट हामी शुरु गरिहाल्छौं। सुधारका कार्यक्रमहरू, वेलफेयरका कार्यक्रम, प्रहरी कर्मचारीको वेलफेयर कार्यक्रम, तनाव व्यवस्थापन, परिवार व्यवस्थापनजस्ता कार्यक्रम गरिराख्ने छौं। प्रहरी कर्मचारी र समाज दुवैलाई लाभ हुने हिसाबले अभियान ल्याउँछौं।
अहिले हामीले प्रहरी कर्मचारीको बिदाको आवश्यकतालाई दृष्टिगत गर्दै वर्षको ४२ दिन बिदा पाउनुपर्छ भनेका छौं। यसमा प्रहरी महानिरीक्षकज्यूको पनि स्पष्ट निर्देशन छ। बिदाहरू काममा बाधा नपर्ने गरी मिलाउने गरी सोचेका छौं। यसबाट कर्मचारीको पारिवारिक समस्या समाधानमा प्रत्यक्ष संलग्नता हुन्छ र तनाव व्यवस्थापन हुन्छ।