नेपाल कमुनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ।
उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।
यसअघि हिजो महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए। कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।
प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।