काठमाडौं जिल्ला अदालतले अपहरण तथा शरीर बन्धकसम्बन्धी अभियोगमा पक्राउ परेका दुर्गाबहादुर श्रेष्ठउर्फ डेबिडलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला अदालतका अनुसार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन हालै आदेश दिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार अभियुक्त श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
श्रेष्ठ मलेशियामा बसेर गुण्डागर्दी र अपहरणमा संलग्न रहँदै आएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अभियुक्त श्रेष्ठलाई गत असोज दोश्रो साता पक्राउ गरेको थियो। अभियुक्त श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको थियो।
दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरेर ७ दिनसम्म बन्धक बनाएको अभियोगसहित उनीमाथि किटानी जाहेरी परेको थियो। ‘अभियुक्त श्रेष्ठले हिमालय बैंकमार्फत् ६० हजार रिङ्गेट जम्मा गराउन पीडित भनेका थिए।
‘अभियुक्तले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुल गरेपछि अपहरण मुक्त गरेको खुल्न आएको छ,’ सिआइबी श्रोतले भन्यो। मलेशियामा डान्सबार तथा रेस्टुरेन्ट सञ्चालन गर्ने श्रेष्ठ अपहरण र गुण्डागर्दीमा पनि संलग्न रहँदै आएको प्रहरी श्रोतको भनाई छ।
यसअघि काठमाडौं जिल्ला अदालतले श्रेष्ठमाथि अनुसन्धान अघि बढाउन म्याद थप गरेको थियो। अनुसन्धान सकिएपछि सिआइबीले मुद्दा दायर गरेको हो।