लामो समयदेखि आपसी विवादमा रुमलिएका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको हो। उनीहरू २५ दिनपछि एक्लाएक्लै संवादमा जुटेका हुन्।
नेकपा सचिवालय बैठकअघि दुई नेताले भेट गरेका छन्। कात्तिक २५ गतेपछि पेचिलो बनेको नेकपाको आन्तरिक कलहको अन्त्य गर्ने विषयमा दुई नेताले संवाद गरेको बालुवाटार श्रोतले बताएका छन्।
श्रोतका अनुसार ओली र प्रचण्ड अहिले छलफलमै छन्। नेकपा सचिवालय बैठक बस्नुअघि ओली र प्रचण्डबीच भएको भेटमा समस्या समाधानका लागि छलफल भइरहेको बुझिएको छ।
ेसचिवालय बैठकमा ओली र प्रचण्डका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल हुने तय भएको छ। प्रचण्डसँगको भेट अघि आफूनिकट नेताहरूलाई खुमलटार पठाएर ओलीले सहमतिमै अघि बढ्न प्रस्ताव गरेका थिए।
यसै शिलशिलामा शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष प्रचण्डलाई भेटेका थिए। आफ्नो पक्षको रणनीतिका सन्दर्भमा प्रचण्डले शनिबार बिहान वरिष्ठ नेता माधवकुमार नेपालसहितका सचिवालय सदस्यसँग छलफल गरेका थिए।
ओलीको कार्यशैलीका कारण आजित भएका प्रचण्ड, नेपाल लगायतका नेता अब उनीसँग सम्झौता नगर्ने पक्षमा छन्। सचिवालय बैठकमा बहुमत सदस्य रहेका प्रचण्डले ओलीको कार्यशैलीमाथि लिखित रुपमै आपत्ति प्रकट गरेपछि पार्टी एकता नै गम्भीर मोडमा पुगेको छ।
नेकपाको आन्तरिक विवाद चुलिएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो व्यक्त गरेकी थिइन्। भण्डारी ओली र प्रचण्डलाई शिलत निवासमा बोलाएर तत्काल सहमतिका साथ अघि बढ्ने वातावरण मिलाउन आग्रह गरेकी थिइन्।