सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरु भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन्।
बैठक शुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।
यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
मंगलबारको सचिवालय बैठकमा भनाभन भएपछि प्रचण्डले बुधबार १ बजे बैठक बस्ने सूचना दिएका थिए। तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए।
मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ।
दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ।