हुम्लाको सिमिकोटमा भर्खरै मात्रै सडक खन्ने काम शुरु भएको छ। त्यसमा पनि डाँडाफयाको जबुका क्षेत्रमा बल्लबल्ल ट्रयाक मात्रै खनिएको छ।
ट्याक्टर र निर्माणमा प्रयोग हुने गाडीहरू गुड्ने बाटोमा केही साना सवारीसाधन पनि सञ्चालन गरिएको छ। शुक्रबार राति एउटा त्यस्तै आपत आइपर्यो।
बिरामीलाई तत्कालै सदरमुकामस्थित जिल्ला अस्पतालमा लानुपर्ने भएपछि बोलेरो जीपको व्यवस्था गरियो। सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जीप बिरामी बोकेर फर्किने क्रममा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
ट्रयाक मात्रै खोलेको सडक
सिमिकोटबाट हेप्काखोला जाने सडकको ट्रयाक मात्रै खोलिएको छ। नेपाली कांग्रेसकी नेतृ तथा हुम्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य रीता शाहीले सडकमार्ग निर्माणकै चरणमा रहेकाे जानकारी दिँदै सरकारले सडक स्तराेन्नतिमा ध्यान नदिएकाले दुर्घटना निम्तिने गरेकाे बताएकी छिन्।
‘पिच गर्ने कुरा त कहिले हो कहिले, यो सडकमा ग्राभेल पनि गरिएको छैन, शुक्रबारको दुर्घटना पनि त्यही कारण भएको हो,’ शाहीले भनिन्।
सरकारले दुर्गम क्षेत्रमा सडक बनाउने कार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै शाहीले ट्रयाक खोलेर अलपत्र छोडिएका सडकमा यात्रा गर्दा नागरिकको ज्यान गइरहेको घटनाप्रति सरकार जिम्मेवार हुनुपर्ने धारणा राखिन्।
४ जनाको मृत्यु, ७ घाइते
हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुकानजिकै लु२च २१०२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
शुक्रबार राति पौने ११ बजे भएको दुर्घटनामा अरु सात जना घाइते भएका छन्। दुर्घटनामा परी एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरू मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरू तामाङ रहेको डिएसपी सुवेदीले जानकारी दिए।
दुर्घटनामा परी एक वर्षीय बालकसहित सात जना घाइते भएका छन्। घाइते हुनेमा सिमकोट–२ ठेहेका जीप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्यूठानका अजय बस्नेत, सिमकोट–८ खोल्सीकी कल्पना सिंह, सिमकोट–८ खोल्सीका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सीकी सम्झना शाही, नाम्खा गाउँपालिका–१ बस्ने झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन्।
घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
बोलेरो जीप मूल सडकभन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको हो। जीप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्दार गरेका थिए।
राति भएकाले उद्दारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन बिष्टले बताए। अधिकांश घाइतेको छाती, टाउको र हातखुट्टामा चोट लागेको छ।