मदन भण्डारी फाउण्डेशन चितवनले आफ्नो मातहतका पालिकामा संस्था विस्तारलाई तीव्रता दिएको छ। रत्ननगर नगरपालिकामा फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन गरिएको हो। दुवै कमिटीले रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा गरिएको छ।
फाउण्डेशन नगर समितिका अध्यक्षमा चन्द्रकान्त न्यौपाने, वरिष्ठ उपाध्यक्षमा सीताराम पोखरेल, उपाध्यक्षमा राजेन्द्र न्यौपाने, सूर्य तामाङ, रश्मि बर्तौला, कृष्ण श्रेष्ठ र रामप्रसाद लम्साल रहेका छन्। सचिवमा इन्द्र भण्डारी, सहसचिवमा लेखनाथ आचार्य र कोषाध्यक्षमा गोकुल पराजुली चयन भएको छ ।
एकेडेमीका अध्यक्षमा अजित चौरेल, उपाध्यक्षमा ध्रुव बर्तौला, लक्ष्मण परियार, केदार न्यौपाने र विष्णु सापकोटा रहेका छन्। समितिका सचिवमा प्रसङ्ग कायस्थ, सहसचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा रोशनी लिम्बू चयन भएको छ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य कृष्णकुमार राईले फाउण्डेशन कुनै दल हो जस्तो गरी हेरिनु नहुने बताए। फाउण्डेशन निर्वाचन लड्न जाने दल नभएको उनको भनाइ थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का केन्द्रीय सदस्य काशीनाथ अधिकारीले जननेता मदन भण्डारीको विचारले नै नेपालमा परिवर्तन ल्याएको बताए।
उनले विश्वमा कम्युनिष्ट सङ्कटमा रहेका बेला नेपाली कम्युनिष्टलाई लोकप्रिय बनाउने काम जनताको बहुदलीय जनवादले नै गरेको बताए। कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, फाउण्डेशनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराई, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपाने, यादव पाठकलगायतले बोलेका थिए।
यसअघि फाउण्डेशनले राप्ती, खैरहनी र कालिका नगरस्तरीय समिति बनाइसकेको छ। छिट्टै भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि विस्तार गरिने फाउण्डेशन चितवनका सहसचिव तिलक रिमालले जानकारी दिए।