सत्तारुढ नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थिति भएनन्। ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको हो।
कोभिड–१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी सहाभागि नभएका हुन्। मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेका लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहने बताइएकाे छ।
शनिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोर्होयाएका थिए।
बैठकलाई दृष्टिगत गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली साथै तालिम प्राप्त कुकुर नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।