नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ। उक्त निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका–४, ५, ६ र ७ पर्दछन्।
सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आव २०७७/७८ का लागि प्राप्त रु चार करोड बजेट आफ्नो क्षेत्रका विभिन्न योजनामा बाँडफाँट गरेका हुन। सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न पठाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यो क्षेत्रमा २० योजना छनोट गरिएको छ। छनोट गरिएका योजनामा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
मन्त्री त्रिपाठीका अनुसार शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता बर्दघाटका लागि रु ५० लाख विनियोजन गरिएको छ भने बर्दघाटकै गैडहवा–भगजोगनी पुल निर्माणका लागि रु ३५ लाख विनियोजन गरिएको छ। भगजोगनीमा सामुदायिक भवन निर्माण, दाउन्नेदेवी क्याम्पसमा सटर निर्माण र सुस्ता गाउँपालिका–४ रामजानकी मन्दिरमा सामुदायिक भवन निर्माणका लागि रु २५/२५ लाख छुट्याइएको छ।
प्रतापपुर स्वास्थ्यचौकी प्रतापपुर, कुडिया स्वास्थ्यचौकी सुस्ता, पञ्चनगर महिला कल्याण कृषि सहकारी बर्दघाट, सरावल–४ हात्तीवन सामुदायिक भवन निर्माण, सरावलकै मङ्गलपुरमा सामुदायिक भवन निर्माण, दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारीका लागि रु २०/२० लाख विनियोजन गरिएको छ।
प्रतापपुर–५ स्थित बैदौली पुल धर्मशालाका लागि रु १९ लाख ४० हजार तथा सरावल–६ स्थित पुसौलीको अधुरो सडक निर्माण र सरावल–४ को कोटहीमाई दुर्गा मन्दिरमा उद्यान निर्माणका लागि रु १५/१५ लाख विनियोजन गरिएको छ।
प्रतापपुर–३ स्थित आमासमूह अमहवाको अधुरो भवन निर्माण, प्रतापपुर–२ गोपीगञ्जस्थित प्रगतिशील महिला समूह, बर्दघाट–१६ सूर्यनगरस्थित बौद्धगुम्बा, बर्दघाटको लघुनाहामा दलित महिला भवन निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ। संसारकोट मन्दिर तथा अधुरो महिला भवन निर्माणका लागि रु सात लाख विनियोजन गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए।