कोरोना महामारीका कारण विश्व आक्रान्त छ। कोरोना भाइरसको संक्रमणकै कारण लाखौं मानिसले ज्यान गुमाइसकेका छन्। कराडौं मानिस संक्रमित भइ अस्पतालको बेडमा छन्।
यसबीचमा कोरोना भाइरससँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान भए। विभिन्न देशहरु कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास लागातार जुटिरहेका छन्। यति लामो समय बितिसक्दा पनि कोरोनाविरुद्धको खोप बनि नसक्नुले विश्व नै चिन्तित बनेको थियो।
तर, कोरोना खोप उत्पादनमा पछिल्लो समय देखिएको प्रगतिले फेरी नयाँ आशा जागेको छ। अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरुपमा निर्माण गरेका खोपले केहि देशहरुमा प्रयोग अनुमति पाएसँगै विश्व नै हर्षित भएको छ।
उक्त खोपको प्रभावकारीताले विश्वको ध्यान खिच्न सफल भएको छ। खोपको प्रयोगले शरीरमा कुनै किसिमको नकरात्मक असर नपार्ने निर्माण कम्पनीको दावी छ।
फाइजर र बायोएनटेकले निर्माण गरेको उक्त खोपलाई प्रयोगमामा ल्याउन बेलायत र बहराइन तयार भएका छन्। त्यस्तै, डिसेम्बर ११–१२ मा उक्त खोपले अमेरिकामा पनि अनुमति पाउने आशा गरिएको छ।
अमेरिकाको खाद्य र औषधि प्रसाशनको डिसेम्बरमा बस्ने बैठकले उक्त खोप प्रयोगबारे ठोस निर्णय गर्ने बताइएको छ। विश्वका अन्य देशहरुले कोरोना खोपको अनुमति दिने तयारी गरिरहेका छन्।
त्यस्तै, रुसले निर्माण गरेको स्पुतनिक पाँच खोपको सामूहिक परीक्षण शुरु भएको छ। यस खोप पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी रहेको रुसको दावी छ।
प्रमाणित हुने बित्तिकै नेपालमा खोप आउने
यसैबीच नेपालमा छिट्टै खोप आउने विश्वास व्यक्त गरिएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसअघि नै कोरोनाविरुद्धको खोप प्रमाणित हुने बित्तिकै नेपालीले पाउने बताइसकेका छन्।
गत मंसिर ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन्। नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको थियो।
सो अध्यादेश आएपछि मुलुकमा कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज भएको छ। सम्भवतः अमेरिकाले खोप प्रयोगको अनुमति दिने बित्तिकै विश्वका धेरै मुलुकले खोप प्रयोग अनुमति दिने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।