बजार, पसल विस्तारै खुल्न थालेका छन्। चैतपछि प्रायः सुनसान रहने सडक अहिले यातायातका साधनले भरिभराउ छन्। रेस्टुरेन्ट, होटलहरु क्रमशः खुल्न थालेका छन्।
लाहुरेको शहर धरान अब विस्तारै गुल्जार हुने क्रममा छ। कोरोना भाइरसपछिको संक्रमण र विश्वव्यापी महामारीले आक्रान्त बनेको पूर्वको शहर धरान अब आशाका नयाँ किरणहरु छर्दै पुनः आफ्नो लयमा फर्किएको छ।
शैक्षिक संस्थाहरु पूर्णरुपमा नखुले पनि पठनपाठनको काम क्रमिक रुपमा अघि बढेको छ। महामारीले देशका अरु शहरजस्तै धरानलाई पनि निकै ठूलो आर्थिक घाटा पुर्यायो। तर, लकडाउन खुलेपश्चात् धरानको पुरानो व्यापारी प्रतिष्ठा पुनः ट्रयाकमा आएको छ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाका अनुसार जिल्लाका मुख्य शहरहरु धरान, इटहरी र मुख्य प्रशासनिक केन्द्र इनरुवा र दुबही अहिले निर्बाध रुपमा सञ्चालन भइरहेका छन्। ‘सुनसरीका प्रमुख शहरहरु धरान, इटहरी र इनरुवा क्रमशः सुचारु भएका छन्। बजार पसल खुलेका छन्। व्यापार पुरानै लयमा फर्किने क्रममा छ,’ अध्यक्ष सापकोटाले भने।
प्रमुख शहरहरुमा कोरोना प्रकोप व्यवस्थापनसहितका कामहरु भइरहेको अध्यक्ष सापकोटाले बताए। उनका अनुसार मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दुरी कायम गरेर गतिविधिहरु सञ्चालन भइरहेको छ।
‘कोरोना प्रकोपले निम्त्याएको संकट समाधानका लागि जनस्तरबाटै काम भइरहेको छ। नागरिक तहमा सचेततापूर्वक काम गर्नुपर्छ भन्ने सन्देश गएपछि त्यही अनुसारको स्वास्थ्य मापदण्ड अपनाएर क्रियाकलाप भइरहेका छन्,’ अध्यक्ष सापकोटाले भने।
जंगलकोबीचमा उदाएको आर्थिक केन्द्र
२०२० को दशक। त्यतिबेला धरान अस्तित्वमा थिएन। तर, पूर्वको व्यापारीक केन्द्रको रुपमा स्थापित धरान अब नविनतम् व्यापारीक केन्द्रको रुपमा स्थापित छ। जंगलकोबीचमा आरा (काठ काट्ने) को धरान राखेर केहि स्थानीय काष्ठसम्बन्धि उद्यम गर्थे। मधेशबाट नुन बोकेर आवतजावत गर्ने भरियाहरु त्यही धरानमा बास बस्न पुग्थे।
काठ काट्ने धरान अहिले पूर्वका सबैभन्दा बढी उद्यममा संलग्न अगुवाहरुको केन्द्र बनेको छ। ‘धरानको इतिहास र आर्थिक आयाम अलग्गै छ। धरानसहित सुनसरीका मुख्य शहरहरु अनेकौं कालखण्डमा देशकै लागि नमुना बनेका छन्,’ उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले भने।
धरानलाई नविनतम् सोचको शहर बनाउनुपर्छ
आर्थिक केन्द्रको रुपमा रहेको धरान धेरै कुराले अग्रस्थानमा छ। आर्थिक केन्द्रसँगै वैचारिक र राजनीतिक बहसको केन्द्रको रुपमा यस नगरको विकास गर्नुपर्ने महेन्द्र क्याम्पस धरानका स्वतन्त्र विद्यार्थी युनियनका सचिव दोर्ची शेर्पाको धारणा छ।
‘धरान देशको उदाहरणीय शहरमध्येको एउटा हो। नेपालको राजनीतिमा परिवर्तन र नविन चेतनाको सन्देश दिने हैसियत धरानले राख्छ। त्यसैले धरानलाई नविन चिन्तन र चेतनाको शहरको रुपमा र बौद्धिक क्षेत्रको प्रवर्द्धन गर्ने गरी अघि बढाउनुपर्छ,’ शेर्पाले भने।