प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनले सर्वदलीय बैठक बोलाउन लागेको बताइएको छ।
सोमबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा उपस्थित नभएका ओलीले सर्वदलीय बैठकका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेको ओली निकट स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीले बोलाउने सर्वदलीय बैठकमा देशभर बढिरहेको राजावादी प्रदर्शन र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिबारे छलफल हुनेछ। राजावादीको प्रदर्शन र नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बोलाइने बैठकलाई विशेष चासोको रुपमा हेरिएको छ।
बैठक यही दिन बस्ने यकिन नभएको ओली निकट स्रोतको भनाइ छ। सम्भवतः मंगलबार वा बुधबारमा ओलीले सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्।