प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) विहान ११ बजेको लागि बैठक बोलाएका हुन्।
सोमबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा उपस्थित नभएका ओलीले पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा देशभर बढिरहेको राजावादी प्रदर्शन र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिबारे छलफल हुनेछ। राजावादीको प्रदर्शन र नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बोलाइने बैठकलाई विशेष चासोको रुपमा हेरिएको छ।
नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए। त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन।
सर्वदलीय बैठकका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।