प्रखर वक्ता रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। उनले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग आज (सोमबार) लाग गाँठो कसेका हुन्। ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले धरानमा बिहे गरेका हुन्। रमेशकी श्रीमती नन्दा बालगृह सञ्चालन गरिरहेकी छिन्।
नन्दाले अभिभावकविहीन बालबालिकाका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ संस्था सञ्चालन गरिरहेकी छिन्। अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई तथा बृद्धिविकासका सम्पूर्ण जिम्मेवारी लिएको छ। संस्था सञ्चालनमा नन्दाकी साथी गीता बस्नेतले सहयोग गरिरहेकी छिन्।
संघर्षशील युवा रमेश प्रसाईको पहिचान एउटै मात्र छैन। रमेश कुशल वक्ता हुन्, जसले आफ्नो आवाजको दममा लाखौं शुभचिन्तक कमाएका छन्।
त्यति मात्रै होइन, हालसालै रमेशको स्वरमा अग्रज श्रष्टा, गायक सुरेश गन्धर्वको ‘रिंकिबुङको’ गीतमा सार्वजनिक भयो त्यस पश्चात उनको गायकी पनि प्रष्फुटन भयो।
ताप्लेजुङमा जन्मिएका रमेश झापाको दुर्गा माविमा प्रारम्भिक शिक्षापछि उच्च शिक्षाका लागि धरान आएका हुन्। रमेश एक दशकभन्दा लामो समयदेखि धरानमा बस्दै आएका छन्।