एक समय थियो, फुटबल जगतमा म्याराडोना उत्कृष्ट कि पेले भनेर ठूलै बहस हुने गथ्र्यो। म्याराडोना र पेलेबीच विभिन्न तथ्याङ्कका आधारमा तुलना हुन्थ्यो।
फुटबलमा म्यारोडोना र पेलेजतिको उत्कृष्ट खेलाडीहरु आउँछन् भनेर कसैले पनि सोचेको थिएन। उनीहरुलाई लिएर विश्व फुटबल दुई भागमा विभाजित हुन्थ्यो।
तर, समय फेरीयो। पात्रहरु फेरीए। चर्चा उही शिखरमा छ। तुलना उही किसिमको छ। ती फेरीएका पात्रहरु हुन् अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज सुपस्टार क्रिस्टियानो रोनाल्डो।
फुटबलप्रेमीबीच जति घम्साघम्सी म्यारोडोना उत्कृष्ट कि पेले भन्नेमा हुन्थ्यो, त्यसको सयौं गुणा चर्काचर्की अहिले मेसी उत्कृष्ट कि रोनाल्डो भन्नेमा देख्न पाइन्छ। मेसी कि रोनाल्डो भन्दा विश्वका फुटबलप्रेमीहरु आज पनि दुई ध्रुवमा उभिन्छन्।
स्पेनिस प्रतिस्पर्धा ला लिगामा एक अर्काको चिर परिचित प्रतिद्वन्द्वीका रुपमा मेसी र रोनाल्डोलाई लिइन्थ्यो। बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसी र रियल मड्रिडबाट खेल्ने रोनाल्डोका कारण बार्सिलोना र रियल मड्रिडबीचको खेल विश्वका सर्वाधिक मानिसले हेर्ने खेलको रुपमा स्थापित भयो।
तर, सन् २०१८ मा रोनाल्डोले एकाएक रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस जाने निर्णय गरे। त्यससँगै फुटबल मैदानमा मेसी र रोनाल्डोको भेट कठिन बन्न पुग्यो। सन् २०१८ मा रोनाल्डोले स्पेन छोडेदेखि मैदानमा रोनाल्डो र मेसीको भेट भएको छैन।
जारी सिजनको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएसँगै विश्व फुटबलप्रेमीहरु उत्साहित बनेका थिए। ड्रमा बार्सिलोना र युभेन्टस एकै समूहमा परेका थिए। त्यससँगै फुटबलप्रेमीमा फेरी मैदानमा मेसी र रोनाल्डोलाई एकअर्काविरुद्ध खेलिरहेको देख्न पाउने आशा जागेको थियो।
गत अक्टोबर २९ तारिखमा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बार्सिालोना र युभेन्टसको भेट भयो। तर, अपशोच मेसी र रोनाल्डोको भेट सम्भव भएन। कोरोना संक्रमणका कारण रोनाल्डोले उक्त खेल गुमाए।
समूह चरणको उक्त खेलमा बार्सिलोनाले २–० गोलको जीत निकालेको थियो। बार्सिलोनाका लागि कप्तान मेसीले पेनाल्टीमा एक गोल गरेका थिए भने अर्को गोल ओस्मान डेम्बेलेले गरेका थिए।
मंगलबार (भोली) राति समूह चरणको अन्तिम खेलमा बार्सिालोनाले युभेन्टसको सामना गर्दै छ। उक्त खेलमा बार्सिलोनाका कप्तान मेसी र युभेन्टसका स्ट्राइकर रोनाल्डो मैदान उत्रने लगभग पक्का छ। खेल नेपाली समयअनुसार मंगलबार राति १ः४५ बजे शुरु हुनेछ।
मंगलबार राति फुटबलप्रेमीको लामो समयदेखिको प्रतीक्षा समाप्त हुने अनुमान गरिएको छ। मेसी र रोनाल्डोलाई पुनः एकै मैदानमा खेल्दै गरेको हेर्ने उनीहरुको चाहाना पूरा हुनेछ।
मेसी र रोनाल्डोबीच सन् २०१८ को मे महिनाको इएल क्लासिको पछि भेट भएको छैन। उक्त इएल क्लासिकोमा रोनाल्डो र मेसी दुबैले आ–आफ्नो टिमको लागि एक–एक गोल गरेका थिए।
बार्सिलोना र युभेन्टसले सबैखाले प्रतियोगितामा १६ औं पटक एक अर्काको सामना गरेका छन्। जसमध्ये बार्सिलोनाले ७ खेल जितेको छ भने युभेन्टसले ५ खेलमा जित निकोलेको छ। ४ खेल बराबरीमा सकिएको छ। यसअघि नै दुबै टोलीले जारी सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाइससेका छन्।