प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न गरिएको गृह मन्त्रालयको सिफारिसविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। गृहले पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो।
ब्याचबाट एकल बढुवा गर्दै महानिरीक्षक बन्ने प्रतिष्पर्धा अन्त्य गरिएको भन्दै समितिमा उक्त सिफारिसविरुद्ध उजुरी परेको बताइएको छ। उजुरीमा डेढ वर्ष अघि नै भावी आईजीपीको टुंगो लगाएपछि अन्य प्रतिष्पर्धी डीआईजीको मनोबल खस्किने भएकाले पनि यो उपयुक्त नभएको उल्लेख गरिएको छ।
समितिले यो विषयमा छलफल राख्ने तयारीसमेत गरेको छ। पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी एआईजीको दरबन्दी थपिएको थियो। उक्त निर्णय गलत भएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट बनेको छ।