विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिँदैछ। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाई मापन गरेर सार्वजनिक गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाई मापन गरेको हो।
विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो। विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नापेको हो।
विभाग स्रोतका अनुसार सगरमाथाको हालको आठ हजार ८४८ मिटर उचाई केही बढेको छ। कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन। विभागले दिउँसो १:३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए।