साईप्रसमा रहेकी एक नेपाली युवतीले देह त्याग गरेकी छिन्। साईप्रसको लार्नाका सहरमा बस्दै आएकी शुक्री तामाङले श्रीमानको मृत्युको खबर सुने पछि आइतबार राति प्राण त्यागेकी हुन्। विवाह भएको एक वर्ष नपुग्दै श्रीमानको मृत्यु भएको खबर सहन नसके पछि उनले टिकटकमा श्रीमानकाे दुर्घटनाको भिडियो पोष्ट गर्दै एक म्यासेज लेखेर देह त्याग गरेकी हुन्।
आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको भन्दै उनले टिकटकमा उल्लेख गरेकी थिइन्।गाडी चालक रहेका उनका श्रीमानको दुर्घटनामा परि मृत्यु भएको हो।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत तामाङले देह त्याग गरेको साइप्रसमा बस्ने नेपालीहरुले जानकारी दिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) साईप्रसले घटनाको पुष्टि गरेको छ।
तामाङ सन २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौं ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न पुगेकी थिइन्। तमाङको शव उनकै परिवारको सल्लाह अनुसार नेपाल ल्याउने प्रयास गरिएको छ।