च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल मंगलबार राति १ः४५ बजे शुरु हुनेछ।
उक्त खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसीलाई कीर्तिमान बनाउने अवसरसँगै प्रतिष्ठा जोगाउने चुनौति छ। उक्त खेलमा ह्याट्रिक गरेमा मेसीले एउटै क्लबको लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउँछन्।
हाल सो कीर्तिमान पेलेको नाममा रहेको छ। पेलेले ब्राजिलियन क्लब सान्टोसका लागि ६ सय ४३ गोल गरेका थिए। मेसीले हालसम्म बार्सिलोनाका लागि ६ सय ४१ गोल गरिसकेका छन्। मंगलबारको खेलमा २ गोल मात्र गरेमा पनि मेसीले पेलेको उक्त कीर्तिमानमा बराबरी गर्नेछन्।
जारी सिजन घरेलु लिगमा खराब अवस्थाबाट गुज्रिरहेको बार्सिलोनाका लागि कप्तान मेसीले सन्तोषजनक र अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन्। मेसीले बार्सिलोनाका लागि यस सिजन ९ गोल गरेका छन्। जसमा मैत्रीपूर्ण खेलको २ गोल पनि समावेश छ।
उनले ला लिगामा ४ गोल तथा च्याम्पियन्स लिगमा ३ गोल गरेका छन्। पछिल्लो समय मेसी गोलका लागि संघर्ष गरिरहेका छन्। त्यसकारण युभेन्टसविरुद्ध गोल गर्न उनका लागि त्यति सहज छैन। ठूला क्लबविरुद्ध गोल गर्न माहिर मानिने मेसीलाई घरेलु मैदानमा युभेन्टसविरुद्ध गोल गर्दै आफ्नो प्रतिष्ठा जोगाउने चुनौति छ।
बार्सिलोना र युभेन्टसबीचको खेलको अर्को रोचक कुरा के छ भने उक्त खेलमा चिर परिचित प्रतिद्वन्द्वी मेसी र रोनाल्डो एकैसाथ मैदानमा उत्रिँदैछन्। दुई वर्षपछि उनीहरु एक अर्काविरुद्ध मैदान उत्रिने भएकाले फुटबलप्रेमीहरु उक्त खेलको प्रतिक्षामा रहेका छन्।