सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताएका छन्। बहत्तरौँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने गरी जनतालाई सुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
मन्त्री गुरुङले भने, ‘सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ।’ अर्को प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको जानकारी दिए।
मन्त्री गुरुङले जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्रनिर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानवाधिकारकर्मीको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गरे।