पोर्चुगिज स्टार तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डाले बार्सिलोनाका कप्तान लियोनल मेसी सधैं नै आफ्नो मिल्ने साथी रहेको बताएका छन्। च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाविरुद्ध पेनाल्टीमा दुई गोल गरेका रोनाल्डोले आफूले मेसीलाई कहिल्यै पनि प्रतिद्वन्द्वी रुपमा रहेको जानकारी दिएका हुन्।
‘मेसीसँग मेरो सधैं नै मैत्रीपूर्ण सम्बन्ध छ,’ रोनाल्डोले भने, ‘मैले पहिले भने झैं वर्षौंदेखि उनीसँग पुरस्कार बाँडिरहेको छु।’ ‘मैले उनलाई कहिल्यै पनि प्रतिद्वन्द्वीको रुपमा हेरिन, उनी आफ्नो टिमको लागि उत्कृष्ट खेल्न चाहान्छन् अनि म आफ्नो टिमको लागि।
म निश्तिच छु, मेसीसँग सोधियो भने उनले पनि यही भन्नेछन्। हामीलाई थाहा छ, फुटबलमा धेरै उत्सुकता जगाउन प्रतिद्वन्द्वीको संज्ञा दिइन्छ,’ उनले भने।
घरेलु लिग ला लिगामा बार्सिलोनाको प्रदर्शन सन्तोषजनक छैन। बार्सिलोनाका कप्तान लियोनल मेसी पनि जारी सिजन उत्कृष्ट प्रदर्शनका लागि संघर्ष गरिरहेका छन्।
‘मेसी मैदानमा सदा झैं उत्कृष्ट छन्,’ मेसी र बार्सिलोनाको प्रदर्शनतिर संकेत गर्दै उनले भने, ‘बार्सिलोना कठिन अवस्थामा छ। मलाइ थाहा छ, उनीहरु यो कठिन अवस्थाबाट बाहिर आउँछन्। सबै क्लबहरु खराब अवस्थाबाट गुज्रिएका हुन्छन्। तर, बार्सिलोना उत्कृष्ट टिम हो।’
च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई उसैको मैदानमा ३–० गालले पराजी गरेको छ। उक्त खेलअघि नै दुबै टोलीले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम १६ मा स्थान बनाइसकेका थिए।