विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ।त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ।
सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिकाले साविकको स्वरुप नबिगारी आवश्यक मर्मतसम्भार एवं निर्माणको प्रक्रियालाई अघि बढाएको छ। कुनै बेला विराटनगरका सबैभन्दा राम्रो यो सभागृह अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा छ।
शहरी विकास तथा योजना महाशाखाका प्रमुख अर्जुन थापाले सभागृहको पुराना संरचनालाई नबिगारी अहिलेको आधुनिक प्रविधिहरु जडान गरी नयाँ संरचना बनाइने जानकारी दिए। सभागृहको प्रबलीकरणका लागि करीब रु २७ करोड खर्च लाग्ने अनुमान गरिएकामा नगर विकास कोषले रु १२ करोड छुट्याएको छ भने प्रदेश सरकारले रु दुई करोड खर्च गर्ने भएको छ।
भवनमा लाग्ने अन्य खर्च महानगरपालिकाबाट नै व्यवस्थापन गरिने नक्सा प्रमुख थापाले जानकारी दिए। पटकपटक भूकम्पको क्षति व्यहोरिसकेको यो भवन पञ्चायतकालमै बनेको थियो। विभिन्न सभा समारोहका लागि उपयुक्त यस भवनलाई आधुनिकीकरण गर्नुपर्ने तथा समयसापेक्ष वातानुकूलित गर्नुपर्ने माग हुँदै आएको थियो।
सभागृहलाई आकर्षक बनाउन आधुनिक प्रविधिहरु जडान गरिने र सो भवनमा भिआइपी कक्षका साथै मिडिया क्याबिनेटको व्यवस्था गरिनेछ। अब यसमा करीब ४०० मानिस सजिलै अट्न सक्ने बनाइने भएको छ।
महानगरपालिकाले सभागृहभित्र भइरहेका गतिविधिलाई बाहिरका मानिसले हेर्न सक्ने गरी बाहिरी भागमा एलइडी स्क्रिनको समेत व्यवस्था गर्नुका साथै भवनको शोभा बढाउन उच्चकोटीको पुष्प उद्यान निर्माण गरिने प्रमुख थापाले जानकारी दिए। स्थानीय शहीद रङ्गशालासँग जोडिएको सो सभागृह सार्वजनिक महत्वका कार्यक्रम गर्न निकै सुविधाजनक स्थान मानिन्छ।