च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाबाचबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार बुधबार राति १ः४५ बजे शुरु हुनेछ।
रियल मड्रिड मोन्चेनग्लाबाचविरुद्धको खेल जित्नैपर्ने दबाबमा छ। च्याम्यियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्नको लागि रियललाई स्पष्ट जितको खाँचो रहेको छ। १३ औं पटकको च्याम्पियन रियल हाल समूहको अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
मोन्चेनग्लाबाचविरुद्धको खेलमा बराबरी गरेमा रियलले नकआउट चरणमा प्रवेश गर्नको लागि सोही समूहमा रहेको इन्टर मिलान र शाख्तर डोनेस्कको खेलको नतिजा कुनुपर्ने हुन्छ।
रियलले बुधबार राति बराबरी खेलेमा र इन्टरले शाख्तरलाई हराएमा रियल अन्तिम १६ मा प्रवेश गर्नेछ। तर, रियलको मोन्चेनग्लाबाचसँग बराबरी र शाख्तरले इन्टरलाई हराएमा भने रियल समूह चरणबाटै बाहिरिने छ।
बुधबारको खेलमा मोन्चेनग्लाबाचसँग हारेमा रियल मड्रिड स्वतः लिगबाट बाहिरिने छ। समूह बीमा मोन्चेनग्लाबाच ८ अंकको साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको शाख्तरको ७ अंक छ भने तेस्रो स्थानको रियलको पनि ७ अंक नै रहेको छ। इन्टर मिलान ५ अंकको साथ तालिकाको पुच्छरमा छ।