देशभरमा आज मंलबारभन्दा ४२७ जना सक्रिय संक्रमित घटेका छन्। पछिल्लो २४ घण्टामा एक हजार ५६ जना संक्रमित हुँदा एक हजार ४८३ जना संक्रमणमुक्त भएकाले सक्रिय संक्रमितको संख्या कम भएको छ।
आज थपिएका संक्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जानकारी दिएको छ। आज संक्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
आजसम्म निको हुने दर ९४ दशमलव तीन प्रतिशत रहेको छ। आजसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ८९६ रहेको मन्त्रालयले जानकारी दिएको छ। पिसिआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ। योसँगै जम्मा संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ।
काठमाडौं उपत्यकामा आज ४९६ संक्रमित थप भएका छन्। जसमध्ये २८८ पुरुष र २१४ महिला रहेका छन्। उपत्यकामा हाल काठमाडौंमा चार हजार ७८१, ललितपुर ९४० र भक्तपुरका ४५३ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २८६ नमूना परीक्षण गरिएको थियो। हालसम्म १८ लाख पाँच हजार ९७२ नमूना परीक्षण भइसकेका छन्। प्रति १० लाख जनसंख्यामा ६१ हजार ८८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ।
सक्रिय संक्रमितमध्ये हाल सात हजार ६०९ होम आइसोलेशनमा छन्। प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको संख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १५१, बाग्मती प्रदेशमा चार हजार ४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनि प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ रहेका छन्।
देशभरमा गरी आज ३३० संक्रमित आइसियुमा रहेका छन्। प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा सात, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात संक्रमित आइसियुमा रहेका छन्।
त्यस्तै प्रदेश नं १ मा पाँच, वाग्मती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ संक्रमित भेन्टिलेटरमा रहेका छन्।
तीन जिल्लामा पाँच सय बढी संक्रमित, दुई जिल्लामा शुन्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा संक्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शुन्य रहेको छ। पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा काठमाडौं, ललितपुर र कास्की रहेका छन्।
थप १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६५१ पुगेको छ। जम्मा संक्रमितमध्ये मृत्यु हुने दर शुन्य दशमलव ६८ प्रतिशत हो। यो संख्या प्रति १० लाख पोजेटिभमा ५६ दशमलव पाँच छ।