कालिकोट जिल्लाका ९ वटै स्थानिय तहमा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ। जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकामा स्थानिय सरकारको काम गर्ने जनसरकार घोषणा गरेको हो।
नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले सरकारले स्थानिय निर्वाचन गरी गठन गरेको स्थानिय सरकारको विकल्पमा आफ्नो पार्टीले पनि समानान्तर सत्ता जनसरकार गठन गरेको जानकारी दिए।
उनका अनुसार जिल्लाको नरहरीनाथ गाँउपालिकामा मनबहादुर बिष्ट, सान्नीत्रिवेणी गाँउपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचालझरना गाँउपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप बिक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाँउपालिकामा धर्म बिक र महाँवै गाँउपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमूखको जिम्मेबारी दिएको छ।
जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधा महावै गाँउपालिकासँग जोडिएको छ। विप्लवले जिल्ला समन्वय समितिको पनि समानान्तर निकायका रुपमा जिल्ला नजसरकार गठन गरेको छ। जसमा अर्जुन बिकलाई जिम्मेबारी दिईएको छ।