नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो।
कोरोना भाइरस सङ्क्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचारार्थ भएका हाम्रा काभ्रेपलाञ्चोक समाचारदाताले जनाएका छन्। विसं २००८ फागुन ९ गते पिता चन्द्रसिंह र आमा मिश्रीमायाका कोखबाट जन्मिएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बसेका थिए।
लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य भएका थिए। विसं २०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
विसं २०६३ मा पुन:स्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए। दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दु:ख व्यक्त गर्दै उनको निधनले नेकपाकाे जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन्।
आज दिएका शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेका स्मरण गरेका छन्।
अध्यक्ष दाहालले भनेका छन्, ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उनको अभावको महसुस गरेको छु।’ अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन्।
सरकारका मन्त्री तथा नेकपाका केन्द्रीय एवं जिल्लाका नेताकार्यकर्ताले वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका नेता लामाप्रति विभिन्न माध्यममार्फत शोक व्यक्त गरेका छन्।